- Written by Dr. Bimala Rai Paudyal, PhD
- Published by eKantipur, on Magh 21, 2081

मैले २६ वर्षमा, स्नातक तहको पढाइ सकेर जागिरे बनेपछि बिहे गरें । यसरी समयक्रम र शिक्षामा पहुँच बढेसँगै समाजमा बिहे गर्ने उमेर पनि बढ्दै गएको छ, तर अझै पनि दक्षिण एसियामा नेपालको नाम बालविवाह हुने देशमा दोस्रो नम्बरमा (बंगलादेशपछि) आउँछ ।
ई साताअघि बाल अधिकारको क्षेत्र र किशोरी सञ्जालसँग काम गर्ने साथीहरूसँगको भेटमा प्रायः सबैमा निराशा र त्रास देखें । कारण थियो– प्रतिनिधिसभाको एउटा समितिले विवाह गर्ने न्यूनतम उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउन सरकारलाई दिएको निर्देशनबारेको समाचार । कानुनले बिहेका लागि न्यूनतम उमेर २० वर्ष तोकेर कार्यान्वयन हुन थालेको ६ वर्ष पुग्दै छ ।
यो बीचमा बालविवाह, बाल मृत्युदर र आमाको मृत्युदर घटेको छ । कलेज जाने छोरीहरूको प्रतिशत बढेको छ । प्रायशः उच्च शिक्षामा स्वर्णपदक ल्याउने पनि छोरी नै देखिएका छन् । १८/२० वर्षमा रोजगारीमूलक सीप सिक्दै छन छोरीहरू । यी प्रगतिका पछाडि थुप्रै नीति रणनीतिले काम गरेका होलान्, तीमध्ये एउटा विवाहको न्यूनतम उमेर २० वर्ष पुर्याउने कानुन पनि हो । फेरि १८ वर्षमा झार्दा यो प्रगतिको ग्राफ पनि ओरालो लाग्ने त हैन ? चिन्ता सर्वत्र छ, र यो चिन्ता जायज छ ।
बिहे गर्ने उपयुक्त उमेर कति हो सार्वजनिक बहस जरुरी छ । किनकि, यो प्रश्न थोरै जैविक र धेरै अर्थ–सामाजिक र मनोवैज्ञानिक दृष्टिले महत्त्वपूर्ण छ । बहसमा स्वास्थ्यविद्, शिक्षाविद्, मनोविद्, बाल अधिकारकर्मी तथा लैंगिक समानताका पक्षधरहरू समावेश हुनुपर्छ । १८ वर्षभन्दा कम उमेर समूहलाई बालबालिका मानिन्छ ।
हाम्रो देशमा १६ वर्ष पुगेपछि नागरिकता पाउने, १८ वर्ष पुगेपछि मतदान गर्न तथा सवारीचालक अनुमतिपत्र लिन मिल्ने र २० वर्ष पुगेपछि बिहे गर्न मिल्ने कानुनी प्रावधान छन् । सोचीविचारी राखिएका यी प्रावधानहरू किशोरकिशोरीको समग्र विकासका लागि महत्त्वपूर्ण छन् । अझ प्रजनन स्वास्थ्यको हिसाबले २१ वर्षअगाडि आमा बनेकाहरूलाई कलिलो उमेरका आमा (एडोलसेन्ट वा अर्ली मदर्स) भनिन्छ र जोखिमपूर्ण मानिन्छ । जनस्वास्थ्यविद्हरू शारीरिक र मानसिक परिपक्वताको हिसाबले आमा बन्नका लागि उपयुक्त उमेर २५/२६ वर्ष (लेट ट्वान्टी) मान्छन् ।
मेरी आमाको ९ वर्षको उमेरमा बिहे भएको थियो । श्रीमान् देख्दा डराउने, भाग्ने र माइत आएपछि घर जान्नँ भनेर रोएको, पढ्न, लेख्न अति नै तिक्ष्ण तर बिहे भएको कारण स्कुल जान नपाएको, विवाहपछि घर र समाजमा भोगेको शारीरिक र मनोसामाजिक दुःखदर्दको कथा आमाले सुनाउनुहुन्थ्यो । जेठी दिदीको बिहे १८ वर्षमा भयो, २० वर्षमा पहिलो सन्तान जन्मियो ।
पढ्ने, लेख्ने बेला आर्थिक रूपले सक्षम नभई बिहे गर्दा परनिर्भर बन्नुभयो, अनि त्यसले दिएको शारीरिक र मानसिक तनावबाट आजित मेरी दिदी २४ वर्षको उमेरमा ‘आत्मनिर्भर’ बन्न ४ वर्ष र छ महिनाका दुई कलिला सन्तान माइतमा छाडेर अनमी (नर्स) पढ्न जानुभएको र आफैं कमाउन थालेपछि बल्ल मर्यादित जीवनको महसुस गर्नुभएको हो ।
छिमेकी भारत र भुटानले गत एक दशकमा बालविवाह अन्त्य गर्ने अभियानमा निकै ठूलो उपलब्धि हासिल गरेका छन् । हाम्रो उपलब्धि सकारात्मक दिशामा त छ, तर सन्तोषजनक छैन ।
संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ) को सन् २०२२ को तथ्यांकअनुसार दक्षिण एसियाका २० देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीमध्ये २८ प्रतिशतको विवाह १८ वर्ष पुग्नुअघि भएको छ । नेपालमा यो उमेर समूहमध्ये ५४ लाख ९३ हजार ५ सय ५० ले अहिले पनि १८ वर्ष पुग्नुअघि नै विवाह गरेका छन् । २० वर्षअगाडि बिहे गर्ने र २१ वर्षअगाडि नै बाबुआमा बन्ने किशोरकिशोरीहरूको संख्या यो भन्दा बढी छ । तथ्यांकले देखाएको यो अवस्था व्यक्तिगत रूपमा बालबालिका र किशोरकिशोरीका लागि अति नै जोखिमपूर्ण हो । सामाजिक रूपमा र देशको अर्थव्यवस्थाका लागि दुःखद् पनि हो ।
१८ वर्षअगाडि बिहे गर्नेहरूमध्ये करिब ३२ प्रतिशतको मात्रै आफ्नै चाहनामा बिहे भएको र अन्य ६८ प्रतिशत आमाबाबुको निर्णयमा वा पारिवारिक दबाबका कारण भएको एक अध्ययनले देखाएको छ । आर्थिक रूपले विपन्न, सामाजिक रूपमा पछाडि पारिएका र शिक्षा र रोजगारीको पहुँचबाट टाढा रहेका परिवारमा छिटो विवाह गर्ने क्रम बढी देखिन्छ ।
कलिलो उमेरमा, शारीरिक र मनोसामाजिक रूपमा परिपक्वता नआउँदै र जीविकोपार्जनका लागि आत्मनिर्भर नहुँदै बिहे गर्दा बालबालिकाहरू शिक्षा, स्वास्थ्य, संरक्षण र मनोरञ्जन जस्ता आधारभूत मानवअधिकारबाट वञ्चित भएका, किशोर अवस्थामा आमा बन्दा किशोरीहरूमा प्रजनन स्वास्थ्य समस्या आएका, मातृ मृत्यु, बाल मृत्युको जोखिम बढेको, बढ्दो परनिर्भरताले घरेलु हिंसा जस्ता सामाजिक कुरीति घट्न नसकेको देखिएकाले नै वर्तमान कानुनले विवाहको उमेर बढाएर कम्तीमा २० वर्ष पुर्याएको हो ।
कानुनी प्रावधानसँगै सरकारले बालविवाह अन्त्यका लागि २०७२ सालदेखि छुट्टै राष्ट्रिय रणनीति बनाएर कार्यान्वयन पनि गरिरहेको छ । यो अभियानमा बाल अधिकार, मातृशिशु, प्रजनन तथा मानसिक स्वास्थ्य, लैंगिक हिंसा जस्ता विषयमा दशकौंदेखि काम गरेका स्वास्थ्यकर्मी, अनुसन्धानदाता, विज्ञ र अभियानकर्मीहरूको ठूलो योगदान छ । परिणामस्वरूप, ‘कलिलो उमेरमा बिहे गर्नु हुँदैन’ भन्ने जनचेतना बढेको र बालविवाहकै कारण हुने मातृ तथा शिशु मृत्युदर पनि घटेको हो ।
किशोरी सञ्जालका छोरीहरू भन्छन्– ‘हिजो आमाबुबाले १० कक्षा सकिँदा नसकिँदै बिहेका लागि केटा खोज्न थाल्नुहुन्थ्यो, आज २० वर्षसम्म कानुनले बिहे गर्न दिँदैन भन्दै स्कुलपछि क्याम्पस पढ्न वा तालिमहरूमा भाग लिएर सीप सिक्न पठाउनु हुन्छ, नागरिकता पनि प्रायः बिहे अगाडि नै बन्न थालेको छ ।’ महिला सशक्तीकरणको पाटोमा किशोरीहरूको यो अनुभूति निकै सकारात्मक छ ।
कलिलो उमेरमा बिहे गर्नु किन हानिकारक छ ? किनकि विवाहले नियमित शारीरिक सम्बन्धलाई सामाजिक मान्यता दिन्छ । त्यसैले विवाहपश्चात् बच्चा जन्मनु, जन्माउनु, हुर्काउनु र विवाहसँगै आउने पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्नु सामान्य सिद्धान्त हुन् । कलिलो उमेरमा बिहे गर्दा किशोरीहरूको शिक्षामा निरन्तरता हुँदैन, प्रजनन स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन्छ । रोजगारीको अवसर र पहुँचमा कमी आउँछ ।
सानै उमेरमा पारिवारिक दायित्व थपिने हुँदा मानसिक चिन्ता, एन्जाइटी र डिप्रेसन हुन सक्छ र घरेलु हिंसाको सम्भावना बढ्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । बाल अधिकारको क्षेत्रमा काम गरिरहेका पाँच संस्थाहरूले पूर्व मोरङदेखि पश्चिम डोटीसम्मका जिल्लामा गरेको एक संयुक्त अध्ययनले कलिलो उमेरमा बिहे गर्दा मुख्य चार स्वास्थ्य, शिक्षा, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक असर परेको देखाएको छ ।
प्रतिवेदनअनुसार कलिलै उमेरमा गर्भवती हुँदा गर्भ खेर जाने, गर्भावस्थामा रक्तअल्पता हुने, सुत्केरी अवस्थामा पाठेघर च्यातिने, बच्चा जन्माउन आवश्यक बल नपुग्दा यौनांग च्यातिने, आमाको मृत्यु हुने, बच्चा कम तौलका जन्मने, कमजोर जन्मने, जन्मनै नसकेर फोर्स डेलिभरी गर्नुपर्ने वा अपांगता हुने, बच्चा जन्मिएपछि किशोरी आमाले स्तनपान गर्न नजान्ने वा नमान्ने समस्या देखिन्छ । पाटन अस्पताल र अन्य शिक्षण अस्पतालमा गरिएको अनुसन्धान र प्रकाशनहरूले समेत यी परिणामहरूको पुष्टि गरेका छन् ।
त्यसैगरी किशोरी आमाहरूमा आफ्नो उमेरका साथीहरू स्कुल, कलेज जाने र आफू भने नवजात शिशुको स्याहार गर्नुपर्ने अवस्था स्वीकार गर्न नसकी मानसिक रूपमा विक्षिप्त रहने, बच्चाको स्याहारमा ध्यान नदिने र कतिमा त सुसाइड गर्नेसम्मका समस्याहरू हुन्छन् । काठमान्डुको एक मेडिकल कलेजको अध्ययन प्रतिवेदनले कलिलो उमेरमा आमा बनेकाहरूमध्ये ७१ प्रतिशतमा कुनै न कुनै स्वास्थ्य समस्या भएको, ६२ प्रतिशतमा प्रजनन स्वास्थ्य र ४५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ ।
सन् २०२३ मा एसियन जर्नल अफ साइकियाट्रीमा प्रकाशित नेपालसम्बन्धी अनुसन्धान प्रतिवेदनले भन्छ, ‘किशोरावस्थामा आमा बनेकाहरूमध्ये एकतिहाइ डिप्रेसनको सिकार हुने गरेका छन् ।’
शिक्षा र रोजगारीको दृष्टिले हेर्दा बाल्यकाल र किशोरावस्था भनेको लेख्ने, पढ्ने, खेल्ने, मनोरञ्जन गर्ने र जीवनोपयोगी सीप सिक्ने समय हो । स्कुल र कलेज जानेहरू कुनै न कुनै तरिकाले यी चौतर्फी विकासको अवसरबाट लाभान्वित हुन्छन् । तर छिटो विवाह गर्ने, विशेषतः छोरीहरूमा स्कुल छुट्ने, पढाइमा ध्यान र समय दिन नसक्दा उत्तीर्ण हुन कठिनाइ हुने र अन्ततः पढाइबाटै अलग हुन्छन् । पढाइ छुट्नु भनेको वर्तमानको समग्र विकासको अवसर मात्रै छुट्नु हैन, भोलिको रोजगारीको अवसर पनि गुम्नु हो ।
सामान्यतः सरकारी होस् या गैरसरकारी क्षेत्र, अधिकृतस्तरमा जागिर खान न्यूनतम योग्यता नै स्नातक तह उत्तीर्ण हुनु हो । अझ रोजगारी पाउन हाल भइरहेको प्रतिस्पर्धा हेर्दा स्नातकोत्तर गरेर पनि स्नातक तहको जागिर नपाउने धेरै छन् । आफ्नो स्वव्यवसाय गर्न पनि पढाइ, सीप र पुँजीको आवश्यकता पर्छ ।
१६ वर्षमा एसईई र १८ वर्षमा बाह्र कक्षा उत्तीर्ण गर्ने नानीहरू प्रायश २२/२४ वर्षमा स्नातक तह उत्तीर्ण गर्छन् । अनि २२/२४ वर्षअगाडि नै विवाह गर्नु र गराउनु भनेको स्नातक तह पनि उत्तीर्ण गर्न नपाउनु हो । कम पढाइ भएकाहरूसँग रोजगारी वा स्वरोजगारीको अवसर पनि कम हुन्छ र उनीहरू जीवनयापनका लागि आत्मनिर्भर हुन पाउँदैनन् ।
हाम्रो समाज, विशेषतः ग्रामीण भेगमा अझै पनि थोरै भाग्यमानीले मात्रै विवाहपश्चात् पनि उत्तिकै स्वतन्त्र र प्रभावकारी रूपमा कलेज गएर पढ्न पाउँछन् । जीवनयापनका लागि पति, बाबाआमा वा सासूससुराप्रति निर्भर हुनुपर्ने बाध्यता महिलामाथि हुने घरेलु हिंसाको सबैभन्दा ठूलो कारण हो । अरूसँग आश्रित महिलाहरूले आफूमाथि हुने हिंसाको विरुद्ध बोल्न र न्यायका लागि स्वतन्त्र रूपमा संघर्ष गर्न सक्दैनन् ।
कलिलो उमेरमा बिहे गर्दाको मनोसामाजिक पक्ष पनि जोखिमपूर्ण छ । ‘हतारमा बिहे, फुर्सदमा पश्चाताप’ भने जस्तै कलिलो उमेरमा, आफ्नो जीवनसाथीलाई राम्रोसँग चिन्न नपाउँदै बिहे गर्ने जोडीहरूमा समय बित्दै जाँदा एकअर्काप्रति वितृष्णा बढेको पनि अनुसन्धानले देखाएको छ ।
हाम्रो समाजमा अहिले पनि विवाहपश्चात् केटाहरूको लैंगिक भूमिकामा खासै फरक हुँदैन, उनीहरू बाबाआमासँगै रहेर पढाइ नियमित गर्न सक्छन् । तर केटीहरूको विवाहपश्चात् काम र उनीहरूप्रति परिवारको अपेक्षा बढ्छ । घरव्यवहार, सासूससुरा, खेतीपाती, बालबच्चाको स्याहार भन्दाभन्दै पढाइ त प्राथमिकतामा नै पर्दैन ।
अझ कलिलो उमेरमा विवाह गरेका जोडी वैदेशिक रोजगारीका कारण बिछोडिएर बस्नुपरे मानसिक रूपमा विक्षिप्त भई डिप्रेसनमा जाने, एकअर्काको चरित्रमा शंका गर्ने, अर्को केटा वा केटीसँग सम्बन्ध स्थापित हुने र पारिवारिक विखण्डन क्रम बढ्ने पनि उत्तिकै जोखिम देखिएको छ । जसको समाज र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ । अब सोचौं, देश बनाउने जनशक्तिको यस्तो स्वास्थ्य, मनोसामाजिक र आर्थिक अवस्था रहिरहेमा हामी कसरी उँभो लाग्छौं ?
कानुन कार्यान्वयनभन्दा पनि बिहेको उमेर घटाउने होडबाजी किन ? सुन्दै अचम्म लाग्छ । कलिलो उमेरमा हुने बिहे वा शारीरिक सम्बन्धले किशोरकिशोरीको शारीरिक र मानोसामाजिक स्वास्थ्यमा असर पार्छ, समग्रमा देशको मानव विकास सूचकांक र आर्थिक विकासमा नकारात्मक प्रभाव पर्छ भन्ने कुरा अध्ययनहरूले देखाउँदा देखाउँदै हाम्रा नीतिनिर्माताहरूलाई घरिघरि बिहेको उमेर घटाउने निर्देशन दिन केले सुझाउँछ ? प्रायः तर्क दिइने
गरेको छ– ‘१८ देखि २० वर्षको उमेर समूहमा केटाकेटी राजीखुसीले यौन सम्बन्ध राख्ने, भागी बिहे गर्ने तर कानुनी रूपमा मान्यता नपाउने भएकाले समाजमा अपराधको संख्या बढ्यो, जेल र सुधारगृह युवाले भरिए, त्यसैले बिहे गर्ने उमेर घटाइदिएर अपराध घटाउने ।’
यस्ता तर्क हाम्रा कानुन निर्माताहरूबाट सवाल सम्झे बुझेरै आउने हुन् कि हचुवाको भरमा ? कलिलो उमेरमा बिहे गर्दाको परिणाम र राज्यको बालविवाह अन्त्य गर्ने, मातृ शिशु स्वास्थ्य सुधार गर्ने, शिक्षा र रोजगारीमा महिलाको पहुँच बढाउने, महिला हिंसा अन्त्य गर्नेलगायतका थुप्रै संवैधानिक प्रावधान र राष्ट्रिय नीति तथा कार्यक्रमबारे हाम्रा नीतिनिर्मातालाई थाहा नभएको हो ? अनि छिटो बिहे गर्न उक्साउँदा यी नीति कार्यक्रमको प्रभावकारिता के होला ?
बालबालिकाको समग्र विकास र महिलाको आर्थिक, सामाजिक सशक्तीकरणको दृष्टिले बढाइएको बिहेको न्यूनतम उमेर २० वर्ष हुँदाको परिणाम सकारात्मक छ, तर कानुन अझै पूर्णरूपमा कार्यान्वयन हुन सकिरहेको छैन भन्ने सरकारी बुझाइ छ । त्यसो हो भने सो कानुन किन पूर्णरूपमा पालना भएन अध्ययन गरेर सुधारका लागि गृहकार्य गर्ने कि कार्यान्वयन गर्न सकिएन भनेर कानुन नै परिवर्तन गर्ने ?
एकातर्फ भूमण्डलीकरण, उदारीकरण र बजारीकरणको प्रकोप, अर्कोतर्फ सूचना, सञ्चार र सामाजिक सञ्जालको बढ्दो प्रयोग अनि स्वच्छन्द बन्दै गएको सामाजिक मूल्य मान्यताको परिवर्तनले समाजमा किशोरकिशोरीहरू आफैं पनि कलिलै उमेरमा शारीरिक सम्बन्धमा बाँधिने क्रम बढ्दो छ । जसले अभिभावकलाई चुनौती थपेको छ ।
तर, यो चुनौती सम्बोधन गर्न कानुनबारे सचेतना बढाउने, स्कुल, चोक, खेलमैदान, होटल, मन्दिर, मस्जिद, चर्च, पार्क, बस बिसौनी, कार्यस्थललगायतका सबै सार्वजनिकस्थलमा कानुनबारे सूचना राख्ने, कम उमेरको विवाहले पार्ने शारीरिक, आर्थिक, मनोसामाजिक प्रभावबारे बहस चलाउने र किशोरकिशोरी तथा अभिभावकले कानुनको परिधिभित्र रहने वातावरण सिर्जना गर्न निर्देशन दिनुको सट्टा बेन्चमार्क नै घटाएर अपराध नियन्त्रण गर्छु भन्नु कस्तो विडम्बना हो ? अहिले पनि कलिला उमेरमा बिहे गर्नेमध्ये आधाभन्दा धेरैले अभिभावकको दबाबमा बिहे गरेको भन्ने तथ्य थाहा हुँदाहुँदै कानुनले नै उमेर घटाइदिँदा यो क्रम बढ्दैन र ?
यी र यस्ता थुप्रै सवाल र चिन्ता आज किशोरकिशोरी, अभिभावक, बाल अधिकारकर्मी, महिला सशक्तीकरणका लागि खटिरहने अभियानकर्मीदेखि शिक्षा, स्वास्थ्य, मनोसामाजिक क्षेत्रका विज्ञहरू सबैमा छ । नीतिनिर्माताहरूले यस्ता दूरगामी असर पार्ने विषयमा सरोकारवाला र प्रत्यक्ष प्रभावित हुनेहरूसँग छलफल गरेर, अनुसन्धानले देखाएको तथ्य तथ्यांक हेरेर, अन्तर्राष्ट्रिय अभ्यासको स्वअध्ययन गरेर र प्रस्तावित नीतिको प्रत्यक्ष, अप्रत्यक्ष अनि दूरगामी प्रभाव निश्चित गरेर मात्रै निर्देशन दिनु उचित हुन्छ ।
स्मरण रहोस्, देश पाँच किलोमिटर दौड प्रतियोगितामा भाग लिइरहँदा दुई किलोमिटरमा थकाइ लाग्यो भनेर सांसदहरूले खेलको नियम परिवर्तन गर्न खोज्ने हैन, खेलाडीहरूको मांसपेशी बलियो बनाउने रणनीति लिने र नियमित अभ्यासबाट पाँचै किमि दौडने हिम्मत गर्न सरकारलाई निर्देशित गर्ने हो ।