
काठमाडौं- मानवअधिकार र नागरिक समाजका अगुवाहरुले नेपालमा लोकतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलहरुले आफ्नो भूमिकालाई बलियो नबनाउँदा संविधान पनि विस्तारै धरापमा पर्ने उनीहरुको चिन्ता छ ।
मानव अधिकार अलाइन्सले हिजो आयोजना गरेको ‘सिटिजन कन्क्लेभ अन डेमोक्रेसी’ कार्यक्रममा बोल्ने क्रममा वक्ताहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । नेपालको लोकतन्त्र कमजोर बनाउन अदालतले पनि अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गरेको उनीहरुले बताएका छन् ।
राष्ट्रियसभा सदस्य डा. विमला पौडेल राईले लोकतन्त्रलाई बलियो कि कमजोर बनाउने भन्ने कुरा राजनीतिक दलहरुको भूमिकामा निर्भर हुने बताउनुभयो । ‘२०७४ सालमा भएका तीनवटै तहका निर्वाचनपछि लोकतन्त्रले लयो समाएको थियो’ उहाँले भन्नुभयो ‘तर संसद विघटन देखि अहिलेको सरकार गठन हुने बेलासम्म आइपुग्दा लोकतन्त्रको चिरहरण भएको छ ।’
‘संविधानको परिकल्पना ठूला दल थोरै दल’ भए पनि अध्यादेशले त्यो मर्म माथी प्रहार गरेको पौडेलले बताउनुभयो । लोकतन्त्र बलियो बनाउन संसद र सभामुखको भूमिका महत्वपूर्ण हुने पौडेलको भनाइ छ । तर सभामुखले एकै प्रकृतिका मुद्धामा फरक फरक खाले भूमिका देखाउनु उदेक लाग्दो भएको पौडेलले बताउनुभयो । ‘सरिता गिरीलाई सांसद पदबाट पार्टीले कारबाही गर्दा एकै दिनमा कारवाही सदर हुने, माओवादीले गरेको कारवाही चौथो दिनमा सदर हुने अनि एमालेले गरेको कारवाही १० दिनसम्म पनि केही नहुने,’ पौडेलले भन्नुभयो, ‘संवैधानिक ओहोदामा बसेकाहरुको यस प्रकारको भूमिकाले लोकतन्त्रप्रति नागरिक बितृष्णा जगाउँछ । ’

संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्यले नागरिकको हैसियत बलियो नभए लोकतन्त्र बलियो नहुने बताउनुभयो । वर्तमान सरकारले ल्याएको अध्यादेश र सर्वोच्चका केही व्याख्या व्यक्ति विशेषलाई टार्गेट गरेर ल्याइएको आचार्यको भनाइ छ । ‘अध्यादेशमै उल्लेख गरेर स्थानीय तहका जनप्रतिनिधीले २१ दिनभित्र दल बदल गर्न सक्ने व्यवस्था गर्नु हदैसम्मको अलोकतान्त्रिक परकाष्ठा हो’ आचार्यले भन्नुभयो‘लोकतन्त्र कमजोर पार्ने यस्ता छिद्रहरुले नै हो ।’
नागरिक समाजका अगुवा कनकमणि दीक्षितले नेपालको लोकतन्त्रलाई दर्शन र बिचार भन्दा अवसरले हाँक्नु दुखद् भएको बताउनुभएको छ । ‘कुनै पनि सरकार नौ महिना भन्दा बढी टिकेपछि दलहरुलाई चिलचिलाउन थाल्छ’ दीक्षितले भन्नुभयो ‘त्यसैले उनीहरु संविधान, कानुन र राजनीतिक स्थिरताको अभ्यासलाई ख्याल नगरी सरकार ढाल्ने खेलोमेलो सुरु गरिहाल्छन् ।’
वर्तमान राजनीतिक संकटको प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड भएको दिक्षितको आरोप छ । ‘देख्दा खेरी एमाले फुटाउने माधव नेपाल हुन् तर त्यसको डिजाइनर पुष्पकमल हुन् ।
देख्दाखेरी सरकार ढाल्ने शेरबहादुर हुन् तर त्यसको डिजाइनर पुष्पकमल हुन्’ दिक्षितले भन्नुभयो ‘उहाँको दाउ भनेको दलहरुलाई असफल पार्ने,संविधानलाई निस्तेज पार्ने र देशमा अस्थिरता कायम राख्ने हो । त्यस्ता पात्रलाई बेलैमा दलहरुले नचिने लोकतन्त्र धरापमा पर्दछ । ’
कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालमा एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री हुनु भनेको समाज मृत छ भन्ने प्रमाण भएको बताउनुभयो । ‘जीवित समाजमा तीन दशकसम्म एटै व्यक्तिले पाँच पाँच पटक प्रधानमन्त्री हुने मौका पाउदैन’ त्रिपाटीले भन्नुभयो ‘तर नेपालमा शेरबहादुर देउवालाई नेपालीहरुले त्यसैगरी व्योहोर्दैछन् ।’ ‘केपी ओलीले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने शेरबहादुरले ल्याउँदा लोकतान्त्रिक हुने हुन्छ ?’ त्रिपाठीको प्रश्न छ ‘यस्ता विषयमा नागरिक समाजको पनि निश्चित अडान हुनु पर्दछ । ’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कृष्णप्रसाद ओली, मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्णशोभा चित्रकार लगायतले बोल्नुभएको थियो । मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष विदुर सुवेदीले सञ्चालन गर्नुभएको थियो ।