बिश्वमा १५-४४ बर्ष उमेरसमुहका महिलाहरुको क्यान्सर, मलेरिया, सडक दुर्घटना, द्वन्द सबै मिलाएर बार्षिक रुपमा जति मृत्यू र अङ्गभङ्ग हुन्छ, त्यो भन्दा बढि महिलाहरुको मृत्यु र अङ्गभङ्ग महिला हिंशाबाट भइरहेको कुरा संयुक्त राष्ट्रसंघको प्रतिबेदनले देखांउछ। नेपालमा करिब एक करोड ३६ लाख ४६ हजार जनसंख्या महिलाको छ, जसमध्ये १५ देखि ४९ बर्ष उमेर समुहमा करिब ६ लाख ६० हजार महिला छन्। जनसंख्या तथा स्वाश्थ्य सर्बेक्षण २०११ अनुसार यो उमेर समुहका प्रत्येक पांच मध्ये एक महिला (करिब १ लाख ३२ हजार) आफ्नै परिवारको पुरुष सदस्यद्वारा लगातार गरिने शारिरिक हिंशाबाट पिडित छन। राष्ट्रिय योजना आयोगको समन्वय र एलायन्स फर सोसल डायलगको सहयोगमा २०१५ सालमा गरिएको एक अनुसन्धानले प्रहरिमा सन् २०१३-१४ मा रिपोर्ट भएका ८७८२ महिला हिंशाका घटना मध्ये करिब ७८ प्रतिशत घरेलु शारिरिक हिंशा रहेको देखाएको छ। शारिरिक हिंशाबाट पिडित महिला मध्ये ७५% महिलाले हिंशाको बारेमा प्रहरि वा न्यायालयमा रिपोर्ट गर्दैनन्।
नेपालको कृषि, उद्यम, अनौपचारिक रोजगारी र पर्यटन जस्ता महत्वपुर्ण उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न भएर घरपरिवार, समुदाय अनि देशकै अर्थतन्त्र चलायमान बनाउन योगदान दिइरहेका पनि यिनै १५ देखि ४९ बर्ष उमेरसमुहका महिलाहरु हुन्। अनि देशका करिब ५५ लाख घरपरिवारमा रहेका सबै सदस्यको खानपान, सरसफाइ, सुरक्षा र मनोरंजन अनि मनोसामाजिक परामर्शको जिम्मेवारि पनि यिनै महिलाहरुको कांधमा छ। स्वाश्थ्य अनि शिक्षा जस्तो महत्वपुर्ण सामाजिक सेवा समुहमा पनि शिक्षिका, स्वास्थ्य कर्मीका रुपमा र सरकारी गैह्रसरकारी निकायमा ब्यवस्थापक र कर्मचारिको रुपमा पनि यिनै उमेरसमुहका महिलाहरुको प्रत्यक्ष संलग्नता र योगदान रहिरहेको छ। यस अर्थमा यो उमेर समुहका महिलाहरु यो देशको आर्थिक, सामाजिक र मानब बिकाशका मेरुदण्ड हुन्। यि महिलाहरुको शारिरिक र मनोसामाजिक अवस्था, कार्यदक्षता र प्रभाबकारितामा नै हाम्रो देशको आर्थिक, सामाजिक र मानब बिकास निर्भर गर्छ।
कैलेकांहि घरमा समयमा खाना राम्रो खान नपाइ वा टाउको दुखेको बेलामा, घर वा नातेदारको कोहि सदस्य बिरामी परेको वा दाजुभाइको साधारण भनाभन् परेको दिनमा कार्यालय, खेत तथा ब्यबसायमा जानुपर्दा आफ्नो काममा मन् नलाग्ने, सभा बैठकमा बस्दा ध्यान नलाग्ने, साथिसंगिसंग बोल्न हास्न मन नलाग्ने र आफ्नो पुरै दिन र कैलेकाहि हप्तौ अनि महिनौको कार्यक्षमता नै घटेको हामि सबैले कुनै न कुनै समयमा अनुभब गरेका छौ। आर्थिक र सामाजिकरुपले सकृय योगदान पुर्याइरहेका महिलाहरु आफ्नै परिवार र समाजद्वारा गरेको हिंशाबाट प्रत्येक दिन पिडित हुंदा यिन्को भौतिक र मनोसामाजिक अवस्था कस्तो हुंदो होला र यो अवस्थाले यिन्को कार्यक्षमतामा कति असर परेको होला, अनि यो कार्यक्षमतामा परेको नकारात्माक असरले परिवार र देशकै आर्थिक सामाजिक र मानब बिकासको गति कति पछाडि धकेलिएको होला? एकछिन मनन् गर्दा सहजै अनुमान गर्न सकिन्छ।
नेपालमा महिला हिंशा र यो बिरुद्धको अभियानलाइ मुख्यत: महिला कल्याण, महिला अधिकार र मानब अधिकारकर्मिहरुको मुद्धाको रुपमा हेरिने गरिएको छ। यस बिरुद्ध उठेका आवाज, तातेका सडक र न्यायको लागि कानुनको ढोका ढकढकाउने समुहमा प्रायश: पिडित महिला, उन्को परिवार, महिला तथा मानब अधिकारकर्मिहरुनै बढि देखिएका र नेपालका अर्थशास्त्री, आर्थिक बिकासबिद, अर्थमन्त्रालय र आर्थिक कारोबार सम्बन्धित ब्यक्ति र संस्थाहरुको नगन्य सकृयताले यहि सोच प्रष्टाउंछ।
तर गहिरिएर बिचार गर्ने हो भने, महिला हिंशा सामाजिक र मानब अधिकारको बिषय मात्रै हैन, अर्थशास्त्रको सवाल पनि हो। किनकी महिला हिंशाको कारणले नेपाली परिवार, समाज र देशले नै सधै निक्कै प्रत्यक्ष अप्रत्यक्ष खर्च गरिरहेको छ। प्रत्यक्ष खर्च भित्र हिंशा पिडितको उद्धार, राहत, उपचार, प्रहरि र न्यायालय सम्म जान लाग्ने खर्च देखि सरकार र गैह्र सरकारि संस्थाले उद्धार गृह संचालन, प्रहरि र न्यायालयका संरचना, कर्मचारि, अस्पताल र पुनर्श्थापनामा लाग्ने आर्थिक भार सम्म पर्दछन्। अप्रत्यक्ष खर्च भित्र पिडितले हिंशाको कारणले गुमाएको कार्य क्षमता, रोजगारि र उत्पादनको क्षमता पर्दछन्।
संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको महिला हिंशा सम्बन्धि एकप्रतिबेदनले संयुक्त राज्य अमेरिकामा मात्रै महिला माथि आफ्नै जिबनसाथि बाट भएको हिंशाले गराउने खर्च प्रतिबर्ष ५.८ बिलियन डलर छ, जसमध्ये ४.१ बिलियन उद्धार, औषधि, प्रहरि, न्याय जस्ता प्रत्यक्ष रुपमा खर्च हुन्छ भने, पिडक र पिडित दुबैको उत्पादन र कार्यक्षमता ह्रास हुने र रोजगारि गुम्ने बाट बार्षिक १.८ बिलियन क्षति हुन्छ। नेपालमा यसरि महिला हिंशाकै कारणले प्रत्यक्ष रुपमा कति खर्च हुन्छ र कति कार्यक्षमता ह्रास भएर उत्पादन घटेको छ भनेर बृस्तृत लेखाजोखा हालसम्म गरिएको छैन। तर पनि महिला हिंशाबाट यति धेरै महिलाहरु लगातार रुपमा प्रताडित भइरहेको एैलेको परिप्रेक्षमा राष्ट्रले उद्धार, राहत, औषधि, पुनर्स्थापना, प्रहरि, प्रशासन, कर्मचारि, न्याय आदि बिभिन्न रुपमा प्रत्येक बर्ष निक्कै नै खर्च गर्नु परेको छ भन्ने अनुमान गर्न सकिन्छ।
त्यस्तै पिडक, पिडित र यिनका परिवार सबै कुनै न कुनै रुपमा कृषि वा गैह्र कृषि, औपचारिक वा अनौपचारिक क्षेत्रमा उत्पादनमुलक कार्यमा संलग्न भएकै हुन्छन्। हिंशाको कारणले पिडित महिलामा शारिरिक वा मानशिक रुपमा कमजोर भइ काम गर्ने क्षमतामा ह्रास आउंछ र यस्ले उत्पादकत्वमा नै असर पार्दछ। हिंशा पश्चात पिडक मै पनि मन हतास हुने वा ग्लानि हुने मनोसामाजिक असर बाट अनि प्रहरि प्रशासन र मुद्धा मामिला भएमा समयाभाव कारणले कार्यक्षमता मा ह्रास आउने वा रोजगारि गुम्ने र उत्पादकत्व गुम्ने हुन्छ। यसरि उत्पादन गुम्नु भनेको आर्थिक भार थपिनु र कुल ग्राहश्थको परिमाण घट्नु नै हो।
यो संगसंगै हिंशाको मानबिय मूल्य अझ भयानक छ। पिडित र पिडक दुबै यहि समाजका सदस्य हुन्। कुनै महिलालाइ शारिरिक रुपमा कसैबाट हिंशा भएमा उनलाइ प्रत्यक्ष दुख्ने मात्रै हैन, घाउ, चोटपटक, अङ्गभङ्ग भएमा शारिरिक क्षति अनि मनोसामाजिक पिडा र आत्मसम्मानमा पुगेको चोटको असर दिर्घकालिन हुन्छ। घर समाजमा हिंशा देखेका र भोगेका बालबालिका मनोसामाजिक रुपमा बिचलित हुन्छन्। आफ्ना परिवारका सदस्य माथिको हिंशा देखेका बालबालिकाहरुमा त्रास, पिडित प्रतिको माया र सहयोग गर्न नसक्दाको ग्लानि अनि पिडक प्रतिको डर र घृणाले यिन्को खाने, खेल्ने, पढ्ने, काम गर्ने सबै नियमित कृयाकलापहरुमा नकारात्मक असर पर्दछ।धेरैजसो महिला हिंशा गर्ने ब्यक्ति महिलाको नजिकको चिनेजानेको, नातेदार वा आफ्नै परिवारको पुरुष सदस्य रहेको तथ्यले पनि नेपाली बालबालिकाले महिला हिंशा देख्ने गरेको छन र यस्को मनोसामाजिक असर यि बालबालिकाहरुको समग्र बिकास अनि देशकै मानब बिकासमा पर्दछ। अझ आफुभन्दा ठुलाले गरेको महिला हिंशा देखेर कति बालकहरु ठुलो भएपछि आफै पनि परिवारमा हिंश्रक ब्यबहार गर्ने र कति बालिकाहरु पुरुषहरुलाइ घृणा गर्ने गरेका उदाहरण समाजमा प्रसस्तै पाइन्छन्। त्यसैले आज गरेको महिला हिंशाको नकारात्मक असर क्षणिक मात्रै हैन, अनि पिडित महिलामा मात्रै पनि हैन, सम्पुर्ण परिवार र समाजमा दिर्घकालिन र पुस्तौ पुस्ता सम्म पनि रहन्छ भन्ने कुरा नकार्न सकिदैंन।
नेपालमा गरिबिको रेखामुनि रहेको जनसंख्या घट्ने क्रममा छ। तर यो गरिबी घटाउने क्रमलाइ निरन्तरता दिन र देशलाइ आर्थिक रुपले समृद्ध बनाउन अनुत्पादनमुलक कार्यमा खर्चभार घटाउनु पर्ने, मानब बिकास सुचकाङ्कमा सूधार गरि नेपालीको कार्यक्षमता र उत्पादकत्व बढाउनु पर्ने र साधारण खर्च घटाउदै बिकास खर्च बढाउनु पर्ने हुन्छ। तर ‘डोकोमा दुध दुएर अड्दैन’ भन्ने नेपाली उखान जस्तै महिला हिंशाकै कारण अर्थतन्त्रमा ठुलो धनराशि खर्च गर्नु परेको र हिंशाकै कारणले उत्पादकत्वमा छेद् परेको एैलेको स्थितिमा जति धेरै आर्थिक समृद्धि र कुल ग्राहस्थ बढाउने निती र कार्यक्रम लिएपनि यो चुहावट नरोके आर्थिक बृद्धि के हुन्छ र? अनि देशको आधा भन्दा बढि जनसंख्या रोइरहेको, आत्मसम्मानमा चोट लिएर डरैडरमा बाच्नु पर्ने भएपछि त्यो आर्थिक बृद्धिको पनि के अर्थ रहन्छ?
त्यसैले अब हामी अर्थशास्त्री, निति निर्माता, राजनैतिक नेतृत्व, पेशागत कर्मचारि अनि बिकास कर्मी जस्ले आर्थिक समृद्धिको सपना देखेका छौ र यस्का लागि मरिमेटेका छौ, सबैले महिला हिंशालाइ हेर्ने दृष्टिकोणमा थोरै परिबर्तन गर्नु आवश्यक छ। महिला हिंशा मानबिय क्षति, महिलाको मानबअधिकार हनन भएको र सामाजिक कुसंस्कारको बिषय त हो नै, त्यो संगसंगै परिवार, समाज र देशको आर्थिक बृद्धि र बिकासको तगारो पनि हो र यस्को निराकरण नगरि देशको त परै जावोस, घर परिवार र गाउं समाजकै पनि आर्थिक समृद्धि संभब छैन। महिला हिंशा महिलाको मात्रै मुद्धा हैन, मानबअधिकारकर्मि को मात्रै मुद्धा पनि हैन, यो प्रत्येक परिवार र समुदाय अनि देशकै आर्थिक समृद्धिको मुद्धा हो भन्ने बुझेर महिला हिंशा नगर्ने, नसहने, पिडित भेटे न्यायको लागि सहयोग गर्ने अनि पिडक देखे देशको बिकाशमा बाधा पुर्याउने देशद्रोहि भनेर पारिवारिक र सामुदायिक तहमै बहिष्कार गर्ने अनि सम्बन्धित ठाउमा रिपोर्ट गर्ने बानि बसाउन ढिला भइसक्यो।
जसरि कुनै ब्यक्तिलाइ रोजगारि दिदा, सार्बजनिक पद धारण गर्न अवसर दिदा वा बैदेशिक रोजगारिमा जाने बेला फौजदारि मुद्धा लागे नलागेको निर्क्यौल गर्न प्रहरि रिपोर्टको आवश्यकता हुन्छ, जसरि कुनै ब्यक्तिसंग आर्थिक कारोबार गर्न बैंकहरुको कालो सुचिमा रहे नरहेको निर्क्यौल गरिन्छ, त्यसरि नै समाजको प्रत्येक क्षेत्रमा कुनै पनि ब्यक्तिलाइ संलग्न गर्न र रोजगारि, ब्यवसायको अवसर दिदा अनि सार्बजनिक पदमा नियुक्त गर्नु पुर्व सो ब्यक्ति महिला हिंशामा संलग्न रहे नरहेको निर्क्यौल गरेर मात्रै निर्णय लिने परिपाटि पो बसाउनु पर्छ कि? किनकि यो आर्थिक मुद्धा हो, देशको आर्थिक समृद्धिमा खलल पुर्याउने कार्यलाइ हामी सबैले आ-आफ्नो ठाउंबाट रोक्नै पर्छ।