‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । यसै विषयमा नेपालमा पछिल्लो समय बढ्दै गरेका महिला हिंसाका कुरालाई लिएर सांसद डा. विमला राई पौड्याल सँग केटिएम दैनिकको सम्पादक निशा ‌ओलीले गरेको कुराकानीको सम्पादित अंश

महिला हिंसा नरोकिनुको कारण के हो ?

महिला हिंसा हिजो पनि थियो आज पनि छ । हिजो हाम्रो हजुरआमा आमाको पालामा पनि महिला हिंसा भइरहेकै थियो । उहाँहरूले घरभित्र वा समुदायभित्र मात्रै शारीरिक र मानिसक हिंसा भोग्नुभयो । त्यति बेला श्रीमानले श्रीमतीलाई कुट्ने भनेको नर्मल कुरा हो भनेर बुझिन्थ्यो । अहिले बिस्तारै महिलाहरूको शिक्षामा पहुँच, सामाजिक चेतना बढ्दै गइरहेपछि हिंसा खराब हो, यसबारे अब हामीले बोल्नुपर्छ भन्ने कुराले हिंसाको तथ्याङ्क बढेको मैले महसुस गरेकी छु ।

हाम्रो समाज एकदमै बदलिँदो छ । यसले गर्दा हिंसाका प्रकारहरू बदलिँदै गएका छन् । पछिल्लो समयमा शारीरिक मानिसिक र यौनिक हिंसाहरू बढिरहेका छन् । इन्टरनेटको सहज पहुँच र उपलब्धताले गर्दा सामाजिक सञ्जालमार्फत साइबर क्राइम बढेको देखिन्छ भने इन्टरनेटमा उपलब्ध विभिन्न सामाग्रीहरूले बलात्कारका केसहरू बढेको हुन सक्छन् ।

राजनीतिकर्मीहरूलाई बलात्कारका घटनामा चुइँक्क बोल्नुहुन्न भन्ने आरोप लाग्छ यसमा के भन्नुहुन्छ ?

हामी संसदमा भएका मानिसहरूले बाटोमा नारा लगाउँदै हिँड्नेभन्दा पनि कि संसदमा बोल्छौँ । सांसदहरूको महत्त्वपूर्ण काम भनेको सरकारलाई घचघचाउने हो । हाम्रो काम भनेको जनताको सरोकारका कुराहरूलाई सरकारसमक्ष पुर्‍याएर सरकारलाई जिम्मेवार बनाउने हो । त्यसमा सरकालाई हामीले झकझकाउने काम गरिरहेका छौँ ।

हिजो मात्रै हामीले गृहमन्त्रीलाई भेटेर, अहिले बढिरहेका बलात्कारका घटनाका बारेमा ध्यानाकर्षण गराएका छौँ । बलात्कारपछि मारिएकी मोरङको लेटाङकी १२ वर्षीया बालिका, पोखराकी १७ वर्षीया बालिकाका साथै अन्य विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझायौँ । अहिले सामाजिक सञ्जाल तथा सडक बलात्कारीको पक्षमा तातेको छ । बलात्कार गर्ने व्यक्तिलाई सजाय गर्नुहुन्न भन्दै जुलुस गरिरहेका छन् ।

यसका साथै हामीले नागरिकताको विषयमा कुरा उठाएका छौँ । द्वन्द्वपीडितहरूको कुरा उठाएका छौँ । सांसदहरू नबोल्ने हैनन्, हामीले कुरा उठाउँछौँ । तपाईँहरूले मिडियामार्फत कुरा उठाएजस्तै हामी पनि संसदमा कुरा उठाउँछौँ । संसद् नचलेको खण्डमा सम्बन्धित व्यक्ति वा सरकारको ध्यानाकर्षण गराउँछौँ र गराइरहने छौँ । त्यसैले हामीलाई मौन बसेको भनेर भन्न मिल्दैन । हामी हिजो पनि महिलाको पक्षमा थियौँ र भोलि पनि हुनेछौँ । सांसदहरू बोल्छन् । महिला जनप्रतिनिधिहरू अन्देखा भएर बोलेनन् भनेर भन्न मिल्दैन ।

दिनहुँ बलात्कार, घरेलु हिंसाका घटना भइरहेका छन् । सबै खालका हिंसाबाट महिला कसरी जोगिने ?

आर्थिक रूपमा त हामी पहिले देखिनै बिरामी हौँ तर अहिले चर्को रूपमा हाम्रो समाज नै बिरामी भएको छ । सबैको घरघरमा, पाइलैपिच्छै हिंसा भएको खबर हामीले सञ्चारमाध्यमबाट थाहा पाउँदै आएका छौँ । नातिले हजुरआमालाई बलात्कार गरेको, ६ देखि ७ महिनाको बालिकालाई बलात्कार गरेको केसहरू सुन्दाखेरि कस्तो लाग्छ भने हामीमा सामाजिक रूपमा निकै विकृत बन्दै गइरहेका छौँ ।

अरू देशहरूको तुलनामा हाम्रा कानुनहरू त्यति धेरै लुला वा कमजोर छैनन् । भएका कमी कमजोरीलाई सुधार गर्दै लाने प्रयास भइरहेको छ। कानुनको कार्यान्वयन एकातिर छ तर त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको हिंसा नै हुन नदिन मान्छेमा एउटा चरित्र निर्माण गर्नुपर्छ । यो भनेको हिंसा हो, मैले हिंसा गर्नु हुँदैन भनेर सम्भावित पीडकले सोच्ने अवस्था बनाउनु पर्ने हुन्छ ।

विभिन्न प्रकारका सामाजिक सञ्जालले सूचना प्रणालीमा ‘एक्सपोजर’ भएर पो हो कि, अश्लील फिल्म हेर्ने, उपन्यास पढ्ने बढिरहेको देखिन्छ भने अर्कोतिर फ्रस्टेसन र मानसिक रोग पनि बढ्दै गएको छ । उनीहरूले आफूभित्र भएको रिस पोख्न समाजमा भएका कमजोर व्यक्तिको प्रयोग गर्छन् । पितृसत्तात्मक सोच हाबी भएकाले उनीहरूले महिलालाई कमजोर देख्छन् र आफ्नो रिस उनीहरूमाथि पोख्छन् जसले गर्दा महिला हिंसा बढिरहेको छ ।

उसले महिलालाई मेरो शक्ति प्रदर्शन गर्ने ठाउँ र मैले नियन्त्रण गर्ने ठाउँको रूपमा लिन्छ । अरूबाट पीडा पाएको छ भने त्यो पीडकले आफ्नो पीडा महिलामाथि थोपर्छ । अर्कोतिर हिंसा गरिसकेको व्यक्ति (पीडक) ले पाएको सजायले पनि समाजमा ठुलो भूमिका खेल्दछ । पीडकले कानुनअनुसार कडाभन्दा कडा सजाय पाएको छ, महिलाले क्षतिपूर्ति पाएको छ भने त्यो अनुसन्धान सफल भएको मानिन्छ । र यो देखेपछि अरू हिंसा गर्ने मान्छेहरू डराउँछन् ।

तर पीडक खुल्लमखुल्ला हिँड्न पाएको छ, कानुनको दायराबाट भाग्न पाएको छ, पीडकलाई कुनै राजनैतिक दल अथवा अरू कुनै वर्गले बचाएको छ भने अरू पीडकहरूलाई प्रोत्साहन हुने देखिन्छ । त्यसले गर्दा हिंसा बढ्न जान्छ ।

हिंसा रोक्नको लागि के गर्न सकिन्छ ?

यसको लागि दुई तीनवटा कुरा सँगसँगै हेर्नुपर्छ जस्तो मलाई लाग्छ । पहिलो कुरा भनेको त हिंसा हुनै नदिनको अग्रिम तयारीस्वरूप स्कुल, परिवारदेखि नै मानिसहरूको चरित्र निर्माण गर्नुपर्छ । सही र गलतको पहिचान गर्दै अगाडि बढ्न सिकाउनुपर्छ । म मान्छे हुँ, मान्छेले मान्छेलाई हिंसा गर्नुहुँदैन भन्ने भावना भित्रैदेखि आउनु पर्छ ।

हामीले घरमा छोरी चेलीलाई सुरक्षित भएर बस भन्दै गर्दा, दाजुभाइलाई हिंसा नगर है, तिमीहरू जिम्मेवार बन्नुपर्छ, तिमीहरूले हिंसा गर्नुहुँदैन भनेर सिकाउने वातावरण परिवारले बनाउनुपर्छ । कसैले पनि जानेर वा नजानेर हिंसा गर्दै नगर्ने वा हिंसाको मनोभावना आउनै नदिने काम गर्नुपर्छ ।

अर्को कुरा, मान्छेमा हीनताबोध हुन्छ, कहिलेकाहीँ शक्तिविहीन भएको महसुस हुन्छ, फ्रस्टेसन हुन्छ । कसैलाई रिस उठेको छ, कसैलाई कुट्न मन लागेको छ भने उसले आफ्नो मनको कुरा प्रस्टसँग कहीँ गएर पोख्ने ठाउँ बनाइदिनुपर्छ । त्यो भनेको ठाउँ-ठाउँमा मनोसामाजिक परामर्शकर्ता राख्नुपर्छ । त्यसले मानसिक रोगीहरूलाई सहज वातावरण बनाएर सही बाटोमा हिँडाउन मद्दत गर्छ ।

त्यो सँगसँगै दह्रा कानुनहरू बनाउने, भएका कानुनहरूको राम्रोसँग कार्यान्वयन गर्नुपर्छ । अहिले १७ वर्षीया बालिकाको केसमा पनि उजुरी गर्न जाँदा एक ठाउँको प्रहरीले उजुरी लिन नमान्ने अर्को ठाउँमा एक महिनापछि मात्रै उजुरी लिएको घटना सार्वजनिक भएको छ ।

यो पीडकलाई बचाउने खालको प्रवृत्ति धेरै घातक छ । हिंसा गर्नेलाई बचाउन कोही पनि लाग्नु भएन । एक जना बच्यो भने उसले १० जनामाथि हिंसा गर्छ । पीडक बचेको देखेर अरू सय जनाले बलात्कार गर्छन् । हिंसालाई प्रोत्साहन गर्नेलाई कडा खालको कारबाही गर्नुपर्छ ।

महिला सचेत र सक्षम कसरी हुने ?

महिलालाई सचेत र सक्षम बनाउनको लागि महिलाको शिक्षामा पहुँच हुनुपर्छ । महिलाहरू जतिसुकै सम्भ्रान्त वा समृद्ध परिवारको भएता पनि महिलाको हातमा जबसम्म आर्थिक स्रोतको नियन्त्रण हुँदैन तबसम्म उनलाई घरभित्र र घरबाहिर नै हिंसा हुन्छ ।

म कानुन निर्माण गर्ने ठाउँमा भएको हुनाले सरकारले ल्याएका विधेयक वा मस्यौदाहरूमा महिलाहरूको जीवनयापन कसरी सहज गर्न सकिन्छ, महिला हिंसा घटाउन के गर्न सकिन्छ ? महिलालाई आर्थिक रूपमा सम्पन्न र समृद्ध बनाउन के गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिन्छु ।

अर्को भनेको विकासका विभिन्न प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको लागि कानुनको सुनिश्चितता गर्न मेरो मुख्य भूमिका रहन्छ । सांसदको हिसाबले जनताको सरोकारको विषयहरूलाई ससंदमा उठाउने र महिलालाई सम्मानित रूपले बाँच्न पाउने अवस्था निर्माण गर्नको लागि ध्यानाकर्षण गराउने काम गरिरहेकी छु ।

महिला जिम्मेवार पदमा कसरी पुग्ने ?

संविधान बनाउने क्रममा हामीले सबै तहमा महिलाहरूको ३३ प्रतिशत सिट सुरक्षित नगरेको भए अहिले हामीजस्तै धेरै महिलाहरू राजनैतिक स्तरमा वा विभिन्न सरकारी र गैरसरकारी निकायका नेतृत्व तहमा पुग्दैनथियाैँ। आजभन्दा १० वर्षअगाडि र अहिलेको अवस्था हेर्ने हो भने हामीले धेरै फड्को मारेका छौँ ।

सम्पत्तिमा अधिकारको कुरा, पूर्ण समानुपातिक सहभागिताका कुरा, महिलाको क्षमता विकासको कुरा, महिलाहरूमा लगानी गर्ने कुराहरूलाई कानुनमा सुनिश्चित गर्नुपर्छ । अर्को भनेको हामी केही महिलाहरू नेतृत्वमा पुगेका छौँ भने हामीले अरूलाई ऊर्जा थप्नुपर्छ ।

सानोमा हामीलाई बाबुआमामाले टिका लगाएर आर्शिवाद दिँदा घर गरी खाओस् भन्नुहुन्थ्यो । अहिले मेरी छोरी पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्री, डाक्टर, पाइलट, इन्जिनियरलगायत सरकारी तथा निजी निकायहरूको उच्च तहमा पुगेको देख्न चाहनुहुन्छ ।

नेपालमा जब पहिलो महिला राष्ट्रपति हुनुभयो, त्यसपछि भने सबैमा उत्साह छाएको छ । त्यो पदमा पुगेर उहाँले आफ्नो भूमिका निर्वाह गरिराख्नुभएको छ । त्यस्तै महिला प्रधानन्यायाधीश, सभामुख तथा विभिन्न नेतृत्वमा तहमा पुगेका महिलाहरूलाई आफ्नो भूमिका एकदम प्रभावशाली रूपमा निर्वाह गरिरहेको देखेर अरू महिला तथा किशोरीहरूमा ऊर्जा थपिएको छ ।

उनीहरूलाई मेरो उद्देश्य भनेको विवाह गरेर अर्काको घरमा गएर चुलो चौको गर्ने मात्र हैन है म राष्ट्रपति हुन सक्छु, म प्रधानमन्त्री हुन सक्छु, म डाक्टर हुन सक्छु, राजनीति गर्न सक्छु, म निर्णय प्रक्रियामा जान सक्छु भन्ने भावनाको विकास भएको छ । यसले दिएको ऊर्जा निकै महत्त्वपूर्ण हो ।

अहिले नेतृत्वमा बसेका महिलाहरू आफू मोडेल हुनु सक्नु पर्छ । हामीले के गर्छौ त्यसले हामीभन्दा पछाडि आउने पुस्ताहरूलाई बल पुग्छ, ऊर्जा दिन्छ । वा हामीले गलत गर्‍यौ भने पछि आउने पुस्तालाई निराश मात्र बनाउँदैन, महिलाहरूले गर्न नसक्ने रहेछन् भनेर हरेस पनि बनाउँछ । त्यसैले नेतृत्वमा रहेका महिलाहरूको जिम्मेवारी एकदमै ठुलो हुन्छ।

हामीलाई हेरेर आफ्नो भविष्य देखेका सन्ततिलाई बाटो देखाउनको लागि हामीले राम्रो कार्य गर्नुपर्छ ।

कुनै पनि नेतृत्वमा पुरुष पुग्यो भने उसलाई स्वागत गरिन्छ । उसको नेतृत्व क्षमतामा कसैले पनि प्रश्न उठाउँदैन । तर जब महिला नेतृत्वमा पुग्छिन् तब उनले गर्न सक्छिन् कि सक्दिनन् भनेर हेर्ने आँखा बढी हुन्छ । उनको नेतृत्वमाथि प्रश्न चिन्ह उठाइन्छ ।

सबैको ठुलो आकाङ्क्षा र परीक्षण हुने हुनाले नेतृत्व तहमा पुगेका महिलाहरूलाई प्रेसर र स्ट्रेस पनि बढी नै हुन्छ । त्यो परीक्षण भइरहेको क्षणलाई उत्तीर्ण गर्नु छ । यो भनेको सानो जिम्मेवारी हैन । अहिलेको महिला नेतृत्वलाई एकदमै ठुलो जिम्मेवारी छ । हामीभन्दा पछाडि एउटा ठुलो समुदाय छ, जसले हामीलाई हेरिराखेको छ । हामीले बाटो बिरायौ भने पछाडिको सन्ततिलाई अगाडि बढ्नको लागि अप्ठ्यारो छ ।

महिला हिंसा अन्त्यका लागि के गर्नुपर्छ ?

महिला हिंसा रोक्नको लागि हामीसँग धेरै कानुनहरू छन् । त्यति हुँदाहुँदै पनि कानुनमा सुधार गर्ने र परिमार्जन गर्नुपर्ने छ भने हामीले कानुनमा सुधार गर्नुपर्छ । कानुन हेरेर कसैले बलात्कार र हिंसा गर्दैन ।

कतिपय अवस्थामा कानुन थाहा नपाइकन र कतिपय ठाउँमा कानुन थाहा पाएर पनि बलमिच्याँइ गरेको अवस्था छ । त्यसैले हामी हिंसा खराब हो, मान्छेले मान्छेलाई हिंसा गर्नु हुँदैन भन्ने खालको कुरा सिकाउन चुक्नु हुँदैन ।

महिला र पुरुषबीच भेदभाव हुनुभएन । परिवारदेखि नै भेदभाव भएन भने को ठुलो को सानो भन्ने आउँदैन । हिंसा भनेको ठुलोले सानोलाई गर्ने हो । ठुलो र सानो भनेको उमेरमात्र हैन तर म पुरुष हुँ भन्ने जुन खालको सोचाइ छ त्यसले महिला कमजोर हो भनेर महिला माथि हिंसा भइरहेको छ । त्यसैले महिला र पुरुष समान हो भन्ने कुरा बालबालिकादेखि नै सिकाउँदै गयौँ भने पक्कै पनि हिंसाका घटनाहरू कमी आउँदै जान्छ ।

हामीले राजनैतिक परिवर्तनमा धेरै समय खर्चियौँ । सामाजिक सचेतनामा पनि धेरै काम गरेका छौँ तर मान्छेमाथि लगानी गर्नको लागि चुकेका हौँ कि भन्ने मलाई लागेको छ ।

मान्छेलाई मान्छे बनाउनको लागि परिवार, विद्यालय र समाजबाट सचेत बनाउँदै लैजानुपर्ने एकदमै ठुलो जिम्मेवारी देखेको छु मैले ।

समाज जतिसुकै राम्रो बनाए पनि अपराध हुने गरेको छ । अपराध गर्ने व्यक्ति जो सुकै भए पनि उसले सजायको भागिदार हुनुपर्छ । अपराधीलाई राजनीतिक पूर्वाग्रहअनुसार छुट दिनु हुँदैन । अपराध गर्ने व्यक्ति जोसुकै भए पनि उसलाई कानुनअनुसार सजाय दिनुपर्छ । कानुन पनि दह्रो बनाउनु पर्छ । त्यसको साथै पीडामा परेको व्यक्तिलाई क्षतिपूर्ति दिनुपर्छ । हुन त पैसाले क्षतिपूर्ति कम हुँदैन । हिंसाको क्षतिपूर्ति हुँदैन तर पनि पीडितलाई रक्षा गर्ने, उसको गोपनीयताको रक्षा गर्ने दायित्व राज्यको हो । पीडितलाई मर्यादित जीवन जिउन दिने आधार पनि बनाउनु पर्छ ।

हिंसा हुन नदिनको लागि शिक्षामा लगानी गर्नुपर्‍यो । आपराधिक प्रवृत्तिका मानिसहरूलाई अनुसन्धान गरी सजाय दिलाउनु पर्छ । परिवार, समाज, शिक्षण संस्था तथा विभिन्न निकायहरूमा लगानी गरेर सबैलाई सचेत बनाउनु पर्छ । यसको लागि सरकार र हामी सबै जिम्मेवार हुनुपर्छ ।

नारी दिवसलाई वास्तवमै अर्थपूर्ण बनाउन के गर्नुपर्ला ?

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई अहिले महिला दिवस भन्न थालिएको हो । श्रमिक महिलाहरूलाई समान ज्याला र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने, रोजगारीको अधिकार सिर्जना गर्ने, रोजगारीमा भएका महिलाहरूलाई सुरक्षा दिनको लागि एक सय १२ वर्षअगाडि यो सुरु भएको हो । त्यसैलाई अहिले नारी दिवस भनेर मनाउने गरिएको पाइन्छ ।

हुन त यो दिवस सधैँ मनाउनु पर्ने हो तर कुनै कुनै दिनले अत्यन्तै महत्त्वपूर्ण वातावरण सिर्जना गर्छ । महिला हिंसाको बारेमा जनचेतना जगाउने, महिलाको अधिकार संरक्षण गर्ने, महिलाहरूको अधिकार संरक्षण गर्न बनेका ऐन-नियम र कानुनबारेमा जानकारी गराउने महिला दिवसको दिन हुने गरेको छ ।

अहिलेसम्म हामीले पाएको उपलब्धि के छ त भनेर समीक्षा गर्ने, कहाँ कमजोरी छ त्यो पहिचान गर्ने र अबका लगानीहरू कमजोरी भएका क्षेत्रहरूमा गर्ने मौका दिन्छ ।