सबै क्षेत्रमा एकसाथ असर
बिमला राई पौडेल, सांसद

अहिले एकदमै सतर्क रहनुपर्ने अवस्था छ। कोरोना भाइरस देखिएको छैन तर हल्ला भित्रभित्र भुसको आगो सल्किए जस्तै भएको छ। आर्थिक क्षेत्रको प्रभावलाई हेर्दा अचम्म लाग्ने कुरा के छ भने अरूअरू खालको विपत्ति कुनैले निर्यातलाई असर गर्छ, कुनैले आपूर्तिलाई तर यो कारोनाजस्तो स्वास्थ्यसँग जोडिएको विपत्तिले दुवैलाई एकैचोटि असर गर्दोरहेछ। चाइनाको अनुभव हेर्दा भाइरसलाई आर्थिक लागतले नियन्त्रण गरेको र सफल पनि भएको देखिन्छ। हामी पनि त्यसरी जाने हो भने धान्नै सक्दैनौं, बाँच्नै सक्दैनौं, त्यसले गर्दा यो बढी जोखिमपूर्ण छ।
यसले निर्माण क्षेत्र, पर्यटन क्षेत्र र न्यून आय वर्गलाई बढी प्रभाव पार्छ। हामीले हिजो पनि संसदमा कुरा उठायौं। मन्त्रीज्यू आफैं पनि सामाजिक सुरक्षाको वकालत गर्दै आउनुभएको छ। रेमिट्यान्समा निर्भर परिवारको ७० प्रतिशत आम्दानी उपभोगमा गएको हुन्छ। रेमिट्यान्समा कमी आउँदाबित्तिकै त्यो समुदायले उपभोग घटाउनैपर्ने हुन्छ। त्यसको असर पोषण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पर्छ। त्यो स्थितिलाई कसरी व्यवस्थापन गर्ने, पर्यटन, निर्माण तथा सेवा क्षेत्रमा काम गरिरहेको जनशक्तिले काम पाएन भने खानै सक्दैन। अहिले दुईवटा अवस्था देखापरेको छः एउटा काम गरेर खानेले बजारमा चाहेको बेलामा खाद्यान्न पाउन नसक्ने अवस्था छ, किनकि बजारमा सामान लुकाउन थालिसकेको छ। अर्को प्रशस्त पैसा हुनेले धेरै सामान किन्ने प्रवृत्तिले आपूर्तिमा असर पु¥याएको छ। सरकारले आपूर्ति कसरी सहज बनाउने भन्ने कुरा सोच्नुपर्छ।
हामी चाडवाडको समयमा सुपथ मूल्य पसल भनेर खोल्छौं। अहिले विपतको बेलामा पनि त्यो अवधारणामा सोच्नुपर्ने जस्तो लाग्छ। ठाउँठाउँमा नागरिकको पहुँच हुने ठाउँमा सुपथ मूल्य पसल खोल्न अहिलेदेखि नै पहल गर्नुपर्छ। यसले अहिले कमाएर अहिले खाने समुदायलाई राहत मिल्छ। अर्को लोन प्याकेज हुन्छ कि ! सामाजिक संरक्षणको कुनै न कुनै खालको अनुदान जसले आपत परेको बेला आपूर्ति सहज गर्छ, त्यस्तोमा अनुदान दिनुपर्ने देखिन्छ। उदाहरणको लागि आपूर्तिमा काम गर्ने पसललाई अनुदान दिन सकिन्छ। अत्यावश्यक सामग्री किन्न नसक्नेलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सकिन्छ। त्यसलाई पनि अहिले नै पहिचान गर्नुपर्ने देखिन्छ। भाइरस आफैंले अर्थतन्त्रमा प्रभाव पार्ने होइन, यसको प्रभाव रोक्न हामीले के रणनीति बनाउँछौं त्यसले अर्थतन्त्रलाई असर गर्ने हो।
अरू देशले के रणनीति अपनाए, त्यसको प्रभाव हामीमा पनि देखिएको छ। पहिलो काम सरकार, नागरिक समाज, निजी क्षेत्र सबैले भाइरस फैलन नदिन के रणनीति अवलम्बन गर्दैछौं, त्यो रणनीतिमा के च्यानलहरू छन्, जसले हाम्रो अर्थतन्त्रलाई असर पार्छ। त्यसमा राम्रोसँग छलफल गरेर प्रभावित क्षेत्रको पहिचान गर्ने र त्यस क्षेत्रलाई हामी के सहयोग गर्न सक्छौं भन्ने कुराको गृहकार्य हुन जरुरी छ। त्यो अहिलेसम्म हुन सकेको छैन। विगतमा भएका लामालामा आन्दोलन तथा बन्दको समयमा अर्थतन्त्रमा प्रभाव पर्दा राम्रो आम्दानी भएका व्यवसायीका छोराछोरी समेत आर्थिक अभावको कारण विद्यालय छाड्नुपर्ने अवस्था आएको थियो। जागिर गर्नेहरूको त तलब आउला, व्यापार–व्यवसाय गर्नेलाई एकदमै असर गर्छ। तसर्थ व्यावसायिक क्षेत्रलाई समेत अनुदान दिनु राम्रो हुन्छ।
रेमिट्यान्सका भरमा, ज्यालादारीमा वा सेवा क्षेत्रको भरमा बाच्नुपर्ने नागरिकको लागि एकातिर आपूर्ति सहज बनाउनेतर्फ ख्याल गरौं, अर्कोतिर किन्न सक्ने वातावरण बनाउन पनि सहयोग गरौं। अहिले पनि नागरिकलाई व्याक्तिगत सरसफाइका कुरा, भिडभाडमा जानु हुँदैन भन्ने कुराको सूचना त दिएका छौं तर मलाई कोरोनाभाइस लाग्यो कि भनेर शंका लाग्यो भने कहाँ जाने भन्ने कुरामा मै अलमलमा छु।
आम नागरिकलाई त थाहै छैन। तसर्थ सर्भिस प्वाइन्ट ठाउँठाउँमा राख्ने, व्यापक रूपमा सूचना प्रवाह गर्ने कुरामा अभियान नै चलाउनुपर्छ। त्यस्तै, कुन अत्यावश्यक सामग्री सेवा आवश्यक पर्दा कहाँ जाने भन्ने कुराको लागि रिलिफ सेन्टर पनि तत्काल बनाउनुपर्छ।