राम्रो राजनीतिक नेतृत्वले कुनै पनि आपत्कालीन अवस्थालाई खेर जान दिँदैन । विपत्ले नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिन्छ ।
भनिन्छ, प्रत्येक कालो बादलमा एउटा चाँदीको घेरा हुन्छ । अर्थात्, जतिसुकै अप्ठ्यारो परिस्थिति वा विपतको अवस्थाले पनि केही न केही राम्रो पक्ष ल्याएकै हुन्छ । तर अचेल रेडियो, पत्रिका, टीभी र सामाजिक सञ्जाल, घरपरिवार र साथीभाइको कुराकानी कोरोना भाइरसबाट सुरु हुन्छ र यसैको वरिपरि सकिन्छ । हुँदाहुँदा मोबाइलको रिङटोनमा पनि कोरोनासम्बन्धी सन्देश नै सुनिन्छ । क्वारेन्टिन, आइसोलेसन, पीपीईजस्ता प्राविधिक शब्दहरू जनजिब्रोमा झुन्डिएका छन् ।
हो, विद्यमान अवस्थामा कोरोना भाइरसको संक्रमण विश्वव्यापी स्वास्थ्य संकट बनेको छ। हामीभन्दा धेरै विकसित, ठूला अर्थतन्त्र भएका र राम्रो स्वास्थ्य उपचारको व्यवस्था भएका भनिएका देशहरू पनि यो संकटबाट नराम्ररी थला परिरहेका छन्। नेपाल आफैं पनि संक्रमणको उच्च जोखिममा छ। त्यसैले संक्रमणबाट बच्न, संक्रमण फैलन नदिन र संक्रमितको पहिचान तथा उपचारको व्यवस्था मिलाउन पनि यसबारे सबै तहमा छलफल हुनु र काम गर्नु जरुरी छ। तर यो महामारीले ल्याएको अवसरचाहिँ के हो त ? कतै भाइरस संक्रमणरूपी कालो बादलको मात्रै कुरा गर्दा, हामीले चाँदीको घेराको बेवास्ता त गरेका छैनौं ? यो लेख कोरोना भाइरस संक्रमणबाट बच्न हाम्रो देशले लिइरहेको रणनीति र संक्रमणकै कारण बदलिँदै गएको विश्व अर्थराजनीतिले ल्याउन सक्ने सम्भावनाको खोजीमा केन्द्रित छ।
(क) लकडाउनको विशेष समय, पुनर्सिञ्चनको अवसर
हालसम्म नेपालमा आत्तिइहाल्ने गरी संक्रमण फैलिएको देखिँदैन, तर संक्रमित व्यक्तिहरूको पहिचान हुने क्रम रहेकाले सम्भावित फैलावट रोक्न सरकारले लामै लकडाउनको सुझबुझपूर्ण निर्णय गरेको छ। यो लकडाउनले सधैं कामको धपेडीमा रहेका हामीलाई घरपरिवारसँग गुणस्तरयुक्त समय बिताउने, ‘पर्ख, हेर र अघि बढ’ भनेजस्तै आफ्नै व्यक्तिगत, पारिवारिक र पेसागत जीवनशैलीबारे आत्मविश्लेषण गर्ने र आवश्यक सुधार गर्ने, मन परेका किताब पढेर ज्ञान बढाउने, करेसाबारीमा काम गर्ने, पेन्टिङ, संगीत, साहित्य वा यस्तै अनेक रचनात्मक काम गर्ने समय दिएको छ, जसले हामी कामकाजीहरूलाई पुनर्सिञ्चित गर्छ। यो आजको युगको सन्दर्भमा एक दुर्लभ अवसर हो।
लकडाउनकै कारण गाडी नगुड्दा धूवाँधूलो कम भएर काठमाडौंलगायतका सहरी क्षेत्रमा धेरै पछि आकाश नीलो र सफा देखिएको छ, प्रदूषण घटेको छ, वातावरण स्वच्छ र सफा हुन पाएको छ। सहरवासीको फोक्सोलाई केही राहत मिलेको छ। अर्कातिर, न्यून आय भएका, दैनिक मजदुरी गरेर आफू र परिवारको भरणपोषण गर्दै आएका गरिब, साना व्यापार व्यवसाय गरिखाने, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समा निर्भर वा सेवा क्षेत्रमा विभिन्न सीप बेचेर दैनिक जीवनयापन गर्नेजस्ता जोखिममा रहेका समुदायलाई लकडाउनले निकै अप्ठ्यारो पारेको छ। यो समुदायलाई तत्काल राहत दिएर संरक्षण गर्न सकिएन भने देशको ठूलो जनसंख्या पोषण, शिक्षा, स्वास्थ्यजस्ता विकासका महत्त्वपूर्ण सूचकमा तल पर्न सक्छ । नागरिकका लागि सरकार अभिभावक हो, जिम्मेवार र सक्षम अभिभावकको दायित्व पूरा गर्न सरकार चुक्नु हुँदैन। लकडाउनले दिएको पुनर्सिञ्चित हुने अवसरबाट भने हामीले आफूलाई अझै दक्ष, आत्मविश्वासी र सकारात्मक बनाउन सक्छौं।
(ख) विश्व आर्थिक मन्दीबाट बचेर आत्मनिर्भर अर्थतन्त्र बनाउने अवसर
कोरोना महामारीले विश्वकै अर्थतन्त्र ठप्प पार्नाले छाएको आर्थिक मन्दीको असर नेपालमा पनि पर्ने निश्चित छ । पर्यटन, निर्माण, वैदेशिक रोजगारी र उद्योगमा आर्थिक मन्दीको प्रत्यक्ष असर पर्ने देखिन्छ। चालु आर्थिक वर्ष २०७६–७७ को सुरुमा नेपाल सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेको थियो, जुन अहिलेको अवस्थामा पूरा हुन सक्ने देखिँदैन। तर अनुभवले देखाउँछ, ठूला अर्थतन्त्र भएका मुलुकहरूमा भन्दा नेपालजस्तो सानो अर्थतन्त्र भएका मुलुकमा विश्व आर्थिक मन्दीको प्रभाव कम पर्छ। त्यसमाथि विगतको जनयुद्ध, लामो राजनीतिक अस्थिरता, भूकम्प, नाकाबन्दी र प्राकृतिक विपत्सँग जुझेको नेपाली अर्थतन्त्रसँग हाम्रोजस्तै आकारको अर्थतन्त्र भएका अन्य मुलुकको दाँजोमा अप्ठ्यारो अवस्थासँग जुझ्ने शक्ति बढी छ । दुःखले दुःखसँग जुझ्न सिकाउँछ। २०६३ सालको जनआन्दोलनताका देश बारम्बारको बन्द र लगातार कफ्र्युको मारमा पर्दा साना किसान, घरेलु उद्योग, साना पसल, व्यापार, व्यवसाय र साना आपूर्तिकर्ता नै सबैभन्दा छिटो दैनिकीमा फर्किएको हाम्रो अनुभव छ। त्यसैले देशको अर्थतन्त्रमा सामान्यतः नदेखिने तर आन्तरिक रोजगारी सिर्जना गर्न, स्थानीय उपभोक्ताको माग र आपूर्तिलाई सहज बनाइराख्न र ग्रामीण तथा साना सहरको अर्थतन्त्र चलायमान बनाइराख्न पारिवारिक खेती, अनौपचारिक घरेलु उद्योगधन्दा, साना तथा मझौला व्यापारीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। विपत्को समयमा यो क्षेत्रलाई संरक्षण गरेर मर्न नदिने हो भने हाम्रो अर्थतन्त्रले विश्व आर्थिक मन्दीको ठूलो र लामो असर भोग्नु पर्दैन।
नेपाली अर्थतन्त्रलाई बलियो र आत्मनिर्भर बनाउन घरेलु उत्पादनलाई बढावा दिने र आयात निरुत्साहन गर्ने नीति पनि सरकारले लिएको छ। महामारीले यो रणनीतिको कार्यान्वयनमा उपयुक्त वातावरण दिएको छ। आयात प्रायः ठप्प हुँदा नेपाली बजार र नेपाली उपभोक्ताले चाहेर वा नचाहेरै पनि स्वदेशी उत्पादनको प्रयोग गर्नैपर्छ। यति बेला सरकारलाई स्वदेशी उत्पादनलाई राहतमुखी प्याकेजले संरक्षण गर्ने अनि उत्पादकलाई उपभोक्ताको चाहना बुझ्ने र सोहीअनुरूप आफ्ना उत्पादनलाई परिमार्जन गर्ने एवं कम्तीमा पनि विदेशबाट आयातित वस्तुसरह गुणस्तर कायम राख्ने मौका मिलेको छ। योसँगै उपभोक्ताले पनि ‘टाढाको देवताभन्दा नजिकको भूत काम लाग्छ’ भन्ने उखानलाई सम्झेर सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने बानी बसाले आत्मनिर्भर अर्थतन्त्रतर्फको हाम्रो यात्रा सहज हुन्छ।
(ग) वैदेशिक रोजगारीको विकल्प, आत्मनिर्भर कृषि
केही दशकयता दिगो अर्थतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण स्थान ओगटेको तर व्यवहारमा सबैभन्दा बढी हेपिएको उत्पादनको क्षेत्र भनेको कृषि हो। हुन त सरकारले कृषिलाई सधैं प्राथमिकतामा राखेको भन्ने गरेको छ, वर्तमान सरकारले प्रधानमन्त्रीकै नाममा पनि कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरेको छ। सिद्धान्ततः हेपिएको जस्तो लाग्दैन। तर व्यवहारमा कृषिमा आउनुपर्ने नवीन प्रविधि आउनै नसक्नु, परम्परागत खेतीमा उत्पादन लागत बढ्ने हुँदा आकर्षण घट्नु, सरकारले कृषिलाई न्यूनतम बजेट दिनु, प्राविधिक सेवा र मलबीउमा कृषकको पहुँच नगण्य रहनु अनि सबैभन्दा महत्त्तवपूर्ण ‘म कृषक हुँ, मेरा छोराछोरी कृषिकर्म गर्छन्’ भनेर गौरव गर्ने वातावरण नबन्नुले व्यवहारमा कृषि हेपिएकै क्षेत्र बनेको छ। यसैको परिणाम हो— थुप्रै युवा गाउँ छोडेर खाडी मुलुक र छिमेकी देशमा खेती गर्न र ऊँट चराउन गएका छन्, नेपालमा बाबुआमाले मात्रै धान्न नसक्दा खेतबारी बाँझै छ। आफ्नो खेतबारीचाहिँ बाँझै राख्ने अनि अरूका देशमा विषम र जोखिमपूर्ण अवस्थामा खेती नै गर्ने, रेमिट्यान्सले बजारको आयातित खाद्यान्न किनेर नेपालमा रहेका परिवार पालिने ! यो विडम्बनाको अवस्था अन्त गर्ने उपायको खोजी भइरहेका बेला कोरोना भाइरसको संक्रमण एउटा कारक बन्न सक्छ। यो संक्रमणले वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवाहरूलाई देशमै रोकेको छ भने विदेशमा कार्यरत युवाहरूले रोजगारी गुमाउँदै छन्।
अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना संक्रमणको महामारीका कारण विश्वमा करिब ५५ लाख रोजगारी गुम्न सक्ने अनुमान गरिसकेको छ। ब्रिटिस एयरवेजलगायतका नाफामा चलेका ठूला कम्पनीले पनि थुप्रै संख्यामा कर्मचारी कटौती थालिसकेका छन्। नेपालीहरू विदेशमा गएर काम गर्ने होटल, विमानस्थल, सार्वजनिक यातायात, खाद्यान्न उत्पादन, ठूला व्यापारिक मल र उद्योग अनि निर्माण क्षेत्र यो महामारीका कारण बन्द हुँदै छन्। यो अवस्थामा हामीले चाहे पनि नचाहे पनि, वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली युवा फर्कने निश्चित छ। यति धेरै युवालाई रोजगारी दिन हामीसँग कृषि र केही निर्माण क्षेत्रबाहेक तुरुन्तै अर्को विकल्प छैन।
विदेशमा गएका युवा खाली हात आउँदैनन्। उनीहरूसँग नयाँ सीप, नयाँ ज्ञान र ‘नेपालमै केही गरी खानुपर्छ’ भन्ने संकल्प पनि हुन्छ। कृषि उत्पादन बढाउन र निर्माणलाई तीव्रता दिन सबैभन्दा आवश्यक यो मानवपुँजीलाई खेर जान दिनु हुँदैन। तत्कालै संघ, प्रदेश र स्थानीय सबै तहमा श्रमिकको कमी तथा व्यवस्थापकको कमजोरीले लथालिंग परेको कृषिका पकेट क्षेत्रहरूलाई पहिचान गरी गाउँघर फर्कने युवालाई काम गर्ने वातावरण बनाउनुपर्छ। यसका लागि सरकार, निजी क्षेत्र, समुदाय र गैरसरकारी क्षेत्र सबैले गृहकार्य गरी मौका छोप्नुपर्छ।
(घ) पूर्वीय संस्कृतिको पुनरागमन र नयाँ पर्यटन क्षेत्रको सम्भावना
‘कोरोना भाइरसको संक्रमण मुख, नाक र आँखाबाट सर्छ, त्यसैले कसैलाई भेट्दा अंकमाल गर्ने, चुम्बन गर्ने, हात मिलाउने नगरी टाढै रहेर नमस्कार गरौं र बारम्बार साबुनपानीले हात धोऔं’ भन्ने सन्देश अहिले विश्वभर फैलिएको छ। वैज्ञानिक आधारको पुष्टि त भइसकेको छैन, तर केही जनस्वास्थ्यविज्ञ भन्छन्— छिमेकी देशबाटै सुरु भएको संक्रमणले युरोप, अमेरिका र अस्ट्रेलियामा महामारीको रूप लिइसक्दा पनि नेपालमा अहिलेसम्म धेरै संक्रमण नफैलिनुको एउटा कारण नेपालीको बारम्बार हात धुने संस्कार हुन सक्छ। हाम्रो खाना पकाउने, खाने, दिसापिसाब गर्ने, लुगा धुने सबै काममा हातकै प्रत्यक्ष प्रयोग हुन्छ र यी सबै काममा हात धोइन्छ नै। बारम्बार साबुन–पानीले हात धुँदा भाइरस मुख, नाक र आँखाबाट सर्ने माध्यम र चक्र बीचमै टुट्छ भन्नेमा वैज्ञानिक आधार पाइन्छ। यस्तै, कसैलाई भेट्दा वा सम्मान गर्दा टाढैबाट नमस्कार गर्ने हाम्रो परम्परा छ। आधुनिकताका नाममा अचेल हामीले नमस्कार छोडेर अंकमाल गर्ने, चुम्बन गर्ने अनि हातले खाना खान छोडेर चम्चाले खान थालेका छौं। अरूको नक्कल गरेर आधुनिक बन्न खोज्ने, अनि आफ्नै राम्रा परम्परा र संस्कृतिलाई चटक्क बिर्सिने हामीलाई कोरोना महामारीले झकझकाइदिएको छ। हामी नमस्कार गर्ने र हात धुने आफ्नै पुरानो परम्परामा फर्कंदै छौं। लाग्छ, विश्वले नै अब हाम्रो सिको गर्नेछ।
अझ हाम्रा कति यस्ता राम्रा परम्परागत कुरा होलान्, जसलाई पुनर्जीवन दिन सकिन्छ। विश्व स्वास्थ्य संगठनले महामारीका प्रथम पाँच जोखिमपूर्ण देशको सूचीमा नेपाललाई राखेको यतिका दिन भइसक्दा पनि हाम्रो देश अझै पनि तुलनात्मक रूपमा सुरक्षित नै रहनुको कारण सरकारले अपनाएको रणनीति र हाम्रा परम्परागत शैली र संस्कृति पनि त हुन्। अनि यदि हामीले कोरोनाको संक्रमणलाई यतिमै रोक्न सक्यौं भने नेपाल विश्वकै लागि पनि परीक्षण र सिकाइ केन्द्र बन्न सक्दैन र ? हाम्रो देशको भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधता अनि प्राकृतिक सुन्दरता पर्यटनका लागि आकर्षण केन्द्र हुन्। यीसँगै हाम्रा परम्परागत शैली, व्यवहार, मूल्य र मान्यता अनि कोरोना जस्तो स्वास्थ्य महामारीसँग यिनको सम्बन्धबारे अवलोकन, अनुसन्धान, विश्लेषण अर्को पर्यटनको क्षेत्र बन्न सक्छ। नेपाललाई विश्वमा फेरि चिनाउने र पर्यटनको क्षेत्र फराकिलो पार्ने यो अवसर पनि हामीलाई महामारीले नै दिँदै छ।
(ङ) डिजिटल कार्यशैलीले ल्याउने चुस्तता र पारदर्शिता
लामो लकडाउनले सबै सरकारी र निजी सेवा केन्द्र, बैंक, पसल र व्यापारिक केन्द्र बन्द हुँदा मौलाएको अर्को एउटा क्षेत्र हो— इन्टरनेट, मोबाइल बैंकिङ र अनलाइन सपिङ। इन्टरनेटका माध्यमले बिजुली, खानेपानी, बिमा आदिको शुल्क तिर्ने र खाद्यान्नलगायतका सामान घरमै मगाउने कार्य पनि यो समयमा व्यापक रूपमा बढेको छ। डिजिटल प्रविधिका विज्ञ र सञ्चालकका अनुसार लकडाउन अवधिमा इसेवाजस्ता फोनपे र मोबाइल बैंकका एपहरू डाउनलोड हुने र यिनको प्रयोग गर्ने रफ्तार बढेको छ । उपभोक्ताले घण्टौं लामो लाइनमा बसेर लिनुपर्ने सेवा र दसवटा सामान किन्न दस ठाउँमा पुग्नुपर्ने अवस्थालाई डिजिटल कार्यशैलीले सहज र छरितो बनाएको छ। एउटा बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, दाल, चामल र नुनतेल किन्ने, बत्ती पानीको बिल तिर्ने, नानीहरूको स्कुल फी र कर्मचारीको तलब जम्मा गर्नेदेखि सेवाका लागि आवश्यक फारम भर्नेजस्ता घरबाहिर जानुपर्ने र अति नै समय खपत हुने कामहरू अब अनलाइनबाटै घरबाट ननिस्की केही मिनटमै हुन थालेका छन्। कोरोनाबाट संक्रमितलाई ट्र्याकिङ गर्ने काममा पनि डिजिटल प्रविधि प्रयोग भइरहेको छ।
सरकारले डिजिटल नेपाल बनाउने उद्घोष गरेको दुई वर्ष भइसके पनि यसलाई व्यापकचाहिँ महामारीले नै बनाइदिएको देखिन्छ, जुन राम्रो कुरा हो। तर डिजिटल कार्यशैलीको प्रयोग सर्वसाधारण र सेवाग्राहीमा जसरी बढेको छ, त्योअनुरूप सेवाप्रदायकहरू भने तयार भइसकेका देखिँदैनन्। डिजिटल प्रविधिको प्रयोगका लागि आवश्यक डिजिटल संरचना र सिस्टम अनि जनशक्ति चाहिन्छ, जसमा निजीका तुलनामा सरकारी सेवाप्रदायकहरू धेरै पछाडि छन्। डिजिटल प्रविधिबाट हुने आर्थिक कारोबार पैसारहित र पारदर्शी हुने हुँदा भ्रष्टाचार र कमिसनखोरीमा कमी आउँछ, अनि समय लगाएर कर्मचारी र सेवाप्रदायकलाई खुसी पारी सेवा लिनुपर्ने बाध्यता नहुने हुँदा सेवा छिटो र सरल हुन्छ। समग्रमा सुशासनको अभिवृद्धि हुन्छ। डिजिटल प्रविधिको प्रयोग गरेर सेवा लिनेको माग बढ्दै जाँदा सेवाप्रदायकको क्षमता बढाउनुको विकल्प हुँदैन र लकडाउनले यो क्षेत्रमा आवश्यक सुधार गर्ने अवसर हामी सबैलाई दिएको छ।
कुनै पनि विपत् आउनु राम्रो हुँदै हैन। विपत्ले ठूलो धनजनको क्षति गर्छ, सबैलाई दुःख दिन्छ। अझ विपन्न र महिला, बालबालिका, अपांगता भएका, वृद्धवृद्धाहरूजस्ता जोखिममा रहेको वर्गमा विपत्को नकारात्मक असर बढी हुन्छ। तर हामी सबै प्रकारको विपत्लाई सधैं रोक्न सक्दैनौं। कोरोना भाइरसको संक्रमण यस्तै विपत् हो, जसलाई रोकथाम गर्नु र सामना गर्नुको विकल्प छैन। यति बेला हिम्मतले अन्य देशको सिकाइबाट अझै सावधान हुँदै, स्थानीय परिवेशअनुसारको उपाय अपनाउनुपर्छ, जुन हामीले गरिरहेका छौं। योसँगै जोखिममा परेका वर्ग/समुदाय र माथि उल्लेख गरेजस्तो भोलिको हाम्रो अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान दिने क्षेत्रलाई बेलैमा संरक्षण गर्नुपर्छ ।
राम्रो राजनीतिक नेतृत्वले कुनै पनि आपत्कालीन अवस्थालाई खेर जान दिँदैन। विपत्ले नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिन्छ। पाँच वर्षअगाडिको महाभूकम्प र संविधान निर्माणपछिको नाकाबन्दीकै उदाहरण हेरौं न। भूकम्पबाट ठूलो जनधनको क्षति भयो, तर यो विपत्का कारण भत्किएका संरचनाका ठाउँमा पहिलाभन्दा राम्रा, बलिया र भूकम्प प्रतिरोधि संरचना बन्दै छन्। अझ साच्चै भन्ने हो भने, देशको संविधान बनाउने विषयमा कुरो नमिलेर ६ वर्षदेखि चारतिर टाउको फर्काएर संवादविहीन अवस्थामा बसेका हाम्रा राजनीतिक दलहरूलाई भूकम्पले ल्याएको संकटले नै एक ठाउँमा आउन बाध्य पारेको र त्यसपछि नै संविधान बन्ने र जारी हुने बाटो सहज बनेको तथ्य हामीबाट लुकेको छैन। त्यस्तै, संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीले बजारमा ग्यास र पेट्रोलको अभाव हुँदा हामीले ग्यासको विकल्पमा बिजुलीचुलो र पेट्रोलको विकल्पमा बिजुलीगाडी प्रयोग गर्न सिक्यौं। यसले थोरै मात्रामा भए पनि हाम्रो व्यापार घाटा घटाउन मदत गरेकै हुनुपर्छ।
कोरोना संक्रमणले विश्वमा पारेको असर, यसबाट हामीले सिक्नुपर्ने कुरा र हाम्रै देशमा आउँदै गरेको यो संक्रमणबाट बच्न भौतिक र मानसिक रूपमा सबै पक्ष तयार रहने कुरा त छँदै छ, त्योसँगै यो महामारीले हामीलाई के अवसर दिँदै छ, त्यसको पहिचान गर्न र उपयोग गर्न अब ढिलो गर्नु हुँदैन ।